Saturday, February 22, 2014

‘म अनि मेरो भावना...............’



–चन्द्र घलान
जीन्दगीमा सोचेका सबै कुरा पुरा हुँदैनन् , मलाई थाहा छ । तर पनि यो मन अनगीन्ती सपनाहरु मनमा सजाउँछ । जब घरमा जान्छु जीन्दगीको दुःख र तनावसँग झेलिरहनुभएका मेरा आमाबुवाको निन्याउँरो मुहार देख्छु, जताततै पिडा मात्रै देख्छु अनि विरक्तिन्छ मेरो मन । सोच्छु आमाबुवाको खुशीको लागि मैले केही गर्न सकिन । मनभरि पिडाहरुको दनदनी बलीरहेको आगोलाई आँशुले निभाउने प्रयास गर्दै निदाउँछु सुनौलो बिहानीको पर्खाइमा ।

सुनौलो घामका किरणसँगै म आफुलाई नियाल्छु । मुटु छाम्छु , हिजोको पिडा हराएको पाउँछु । ऐना हेर्छु , थोरै मुस्कान मुहारमा देख्छु । अनि फरकपन महशुस गर्छु हिजोको चन्द्र र आजको चन्द्रमा । आमाबुवालाई राम्ररी बस्नुस् है भन्दै एफ एम तिर कुद्छु अनि पुरा गर्छु म मेरा जिम्मेवारीहरु ।
कहिलेकाँही एकोहोरिन्छु , सोच्छु , मेरा सँगै पढेका साथीहरु कोही डाक्टर,कोही ईन्जिीनिययर पढ्दैछैनन् । कानमा समाचार ठोक्किन्छ म सँगै पढेकी साथी एकताले बिआईएममा टि.यू टप गरिन् रे, पवनले आईटीमा राम्रो गर्दै छ रे, बिजया एमबीबीएस,छिन्दु बिडिएस,रञ्जीता नर्स, सागर एमबीबीएस तयारी गर्दैछन् तर म......? तर मसँग क्षमता भएर नि केही गर्न सकिन । सबैले भन्थे चन्द्रले केही गर्छ तर खै के गरेँ मैले ? कहिलेकाँही यहि सोच्छु । कहिलेकाँही मेरो गुरु सिँह सर लगायत अन्य गुरुमाहरु मलाई आँट दिनुहुन्छ । कलेजमा पढ्ने हो भने पनि सहयोग गर्ने साथी,दाजु, दिदी अनि मेरा आफन्त र शुभचिन्तकहरु हात बढाउन तयार छन् । तर पनि म पढ्न सक्दिन किन त ? प्रश्नको जवाफ पनि थाहा छ , समस्या पनि थाहा छ तर त्यसको निदान लगभग असम्भव छ । कुनै कुरा सुधार्न धेरै गाह्रो हुन्छ खास गरी त्यो बेला जुन कुरा पुस्तौँ देखि बिग्रीदैँ आएको होस् । कहिले सोच्छु म यो समस्या सुल्झाउन सक्छु फेरि सोच्छु अँहँ म सक्दिन । म लगभग डिप्रेस भईसक्छु तर म सम्झन्छु मेरा आमाबुवाको खुशीलाई अनि तिम्रो साथलाई । आमाबुवाको माया र तिम्रो लजालु मुस्कान सम्झेर फेरि मन फुरुङ्ग हुन्छ आउँछ साहस मनमा भरिएर ।

तिमी दर्पण बनेर आउँछौ,मेरो आँखा अगाडि । म हेर्छु तिम्रा नयनहरुमा गहिरीएर अनि श्पर्ष गर्छु मेरो मुटुलाई । यो मुटुमा तिम्रो मायाले धड्कन भरिदिए जस्तो लाग्छ , अनि मन भक्कानेको बेला तिमीले भने जस्तो लाग्छ–‘‘ नडराउनु, नआत्तिनु तपाईँको साथमा म छु । जहिले सम्म यो संसारमा जुनतारा रहन्छ तब सम्म म तपाईको बाहेक कसैको हुन्न । यो मुटुमा तपाईँको माया बोकेर , तपाईँको छाया बनेर म सदा तपाईँको साथमा हुनेछु सदा सदाका लागि । ’’ अनि म मुस्कुराउँछु सारा दुःखहरु भुलेर फेरि मनमा उमङ्ग र सपनाहरु भर्दै......