स्कूल लेभलमा पढ्दाको कुरा, त्यतिबेला हाम्रो घरमा आमाबुवा र ममात्रै थियौँ । छोरा, छोरी र बुहारी सबै आफै बन्नपथ्र्यो ।
आमालाई बढी दुःख नगर्नु आमा भनेर आग्रह गर्थेँ तर लगातार परिश्रम गर्ने बानी परेको आमा, घाँसदाउरा नगरि बस्नै सक्नुहुन्नथ्यो । बिहानै घाँस दाउरा काट्न जान्थ्यौँ आमाछोरा मिलेर । आमा घाँसदाउरा भनेपछि धेरै लोभ गर्नुहुन्थ्यो । मान्छे दुई जना गए पनि ४ भारी जति दाउरा र घाँस हुन्थ्यो । आमा बढी भएको घाँसदाउरा छोड्न पनि मान्नुहुन्न थ्यो । रोगी र बुढो शरिर, आमा भारि बोकेर खासै हिँड्न सक्नुहुन्नथ्यो । आमालाई झिँगडीहरु बोक्न लगाएर बाँकी सबै दाउरा घाँटी बाँङ्गो पार्दै बोकेर आउँथेँ म । घर आईपुग्दा ८ः३० बजीसकेको हुन्थ्यो । हतार हतार करेसाबारीमा लगाएको लट्टे र मेथीका साग टिप्थेँ, आलु मिसाएर बनाउँथेँ अनि आमाबुवालाई खाना दिएर आफु पनि खाएर स्कूल जान्थेँ । हरेक दिन यहि क्रम दोहोरिन्थ्यो । कहिलेकाँही जङ्गलमा नै ९ बज्थ्यो अनि भोकै कुद्थेँ स्कूलमा । दुःखैमा पढे पनि पढाई राम्रो थियो । आमाबुवाको म प्यारो छोरा थिएँ ।
मेरी आमा |
जब शनिबार आउँथ्यो आमाबुवाको कपडा, तन्ना, सिरकका खोलहरु एक डोको बोकेर खोलामा जान्थेँ । लुगा धुँदा ३ बजिसक्थ्यो । लुगा धोएर खेतमा पानी हेर्थेँ अनि छाप्रोमा बसेर पढ्थेँ । सानोमा धेरै दुःख गरियो तर जाडो महिनामा घर लिपपोत गर्नु जस्तो दुःख केही लाग्दैनथ्यो । राति भिजाई राखेको पहेँलो माटो र चिसो पानीलाई कपडाले भुईमा पोत्दा हात पररर गथ्र्यो ।
आज मेरी आमा घरमा हुनुहुन्छ, चारैतिर छोरा बुहारी, छोरी ज्वाईको माझमा तर म त्यहाँ छैन । आज पनि आमालाई सम्झाउँछु ‘आमा अब त दुःख गर्न छोडिदिनुस्, बाख्राहरु पनि बेचिदिए हुन्छ, तपाईले अब घाँसदाउरा गर्नुपर्दैन ।’ तर मेरी आमा मान्नुहन्न, बाँचुन्जेल, सकुन्जेल काम गर्छु भन्नुहुन्छ । आज पनि बिहानै आमासँग कुरा गर्न फोन गर्छु तर मेरी आमा नाम्लो बोकेर घाँसदाउरा काट्न जङ्गल गईसक्नुभएको हुन्छ । जब राति फोन गर्छु तब फोनबाटै रक्सीको गन्ध आउँछ, आमासँग बोल्न पनि भतिजको स्कूल छुट्टी हुने दिन कुनुपर्छ । मेरी आमालाई पढ्न आउँदैन, मोबाईल रिसिभ गर्न सिकाउन खोज्छु तर उहाँ सक्दिन भन्नुहुन्छ । मैले उहाँलाई अक्षर चिन्ने बनाउन प्रयास नगरेको होईन तर जुन बेला सम्म मैले सिकाउन खोजेँ त्यो बेला सायद मेरी आमाको आँखाको ज्योति धमिलो भईसकेको थियो ।
त्यो बेला म एक्लै घरमा थिएँ तर आमाबुवालाई कहिले रुवाईन । आज आमाबुवा दाईभाउजु, दिदीभेनाजु र भतिजाभतिजीहरुको बिचमा हुनुहुन्छ तर पनि किन रुनुहुन्छ ? किन म २ हप्ता मात्र घर नपुग्दा पनि आमाबुवालाई म टाढिएको महशुस हुन्छ ? सोच्थेँ छोरीहरु नै आमाबुवालाई माया गर्ने एकमात्र सन्तान हुन् तर आज किन मेरो विश्वास डगमगाउँछ ? किन घरमा जानुभन्दा आमाबुवालाई हेटौंडामै बोलाउन सजिलो लाग्छ ? आखिर किन ?
मेरी सासुमा र जीवनसँगीनी |
आज मेरो भाग्यमा अर्की एउटी आमाको पनि कर्तव्य थपिएको छ, मेरी जीवनसँगीनीकी आमा । उहाँको पनि दुःखहरु छन् । गाउँमा मेलापात र घाँसदाउरा गर्नमा नै उहाँको समय बित्छ । धन्न मेरी आमाजति निरक्षर हुनुहुन्न । आज सवि र मेरो मनमा आमाबुवालाई हँसाउने चाहाना छ । कर्तव्य पुरा गर्ने रहर छ, आमाबुवालाई जीन्दगीका सारा खुशीहरु दिने रहर छ । आमाबुवा माथिको कर्तव्य जबरजस्ती पुरा गर्ने होईन कि उहाँहरुलाई हँसाउने ठुलो रहर छ । तर यो सिनो पनि नछोड्ने सानो मन भएको शहरमा संघर्ष गरेर सायद हाम्रो यो सपना पुरा हुनेछैन । यो शहरमा हरेक कुरा पैसा तोलिईन्छ । जब पैसा छ नि तब सबै पछि लाग्छन् । नभए पनि ५० रुपैँया सापटी पनि पत्याउँदैन यो शहरले । यो शहरमा बैँकमा पैसा हुनेहरुले पनि १०० सापटी दिँदैन । सापटी दिईहाल्यो भने पनि पैसा नभएर बिजोग भाछ अस्तिको १०० रुपैयाँ छ भने देऊ न भनेर हैरान पार्छन् ।
यस्तो शहरमा बसेर खै कहिले उभो लाग्ला र तर पनि संघर्ष गरिरहेको छु । र यो कुरा हाम्रो आमालाई पनि थाहा छ । यो कुराबाट अन्जान कोही छन् त ती दाजुभाई र चेलीबेटीहरु मात्र हुन् । शहरमा आएर बरु आवश्यक पर्दा भावनात्मक साथीहरुको अनगिन्ती सहयोग पाएको छु जुन सहयोग रगतको साईनो भएकोले पनि गर्दैन । अब त यहि आसा छ कि भोलि हामी सक्षम भएको बेला हाम्रो आमाबुवालाई दिने समय पर्याप्त होस् । यहि प्रार्थना गर्छु भगवानसँग ।
No comments:
Post a Comment