Tuesday, October 4, 2016

आमाबुवा र तिमी, जसलाई मैले हँसाउनुछ अनि आफैँ हाँस्नु छ

Chandra Ghalan & Sabi Lama (SabiSaugat)
हो मैले तिम्रो मन अनायासै दुखाएको छु तिमीलाई रुवाएको छु । के गर्ने काली मेरो जीन्दगी नै यस्तै रहेछ, सबैलाई आँशु मात्र दिन्छु । सुख बाँड्ने दिनहरु थोरै मात्र आउँछन मेरो जीन्दगीमा । सधैँ दुःख मात्र बाँडीरहेको हुन्छु तिमी अनि सबै मेरा शुभचिन्तकहरुसँग । मेरा लागि के दशैँ के तिहार ? के बाहरका रमझमहरु अनि के सुखका पलहरु ? यी त अब सबै धमिला छायाँ जस्तो मात्र लाग्छ ।

दशैँको बेला एक मुठी चामलको टिका बाबाको हातबाट थापेर आएँ । कानभरि बुवाको आशिर्वादको जमरा सिउरेर आएँ । आमालाई अर्को दिन आउँछु भन्दै हतार–हतारमा कुँदे एफ.एम. तिर । बित्यो दशैँ एफ.एम. मै । सायद यो एफ. एम. मा मलाई माया गरिदिने अनि मेरो दुःखलाई बुझिदिने सर नभईदिनुभएको भए बित्थ्यो भोको पेट यी दशैँका दिनहरु पनि । जे होस् सबै हाकिमहरु हाकिम मात्र हुँदैनन्, केही यस्ता पनि हुन्छन् जसमा हामी हाम्रो आदर्श भेट्टाउन सक्छौँ । जसले छुन्छन् हृदयका तारहरु, अनि भर्दिन्छन् अदम्य साहसहरु । 

आज तिमी भौगोलिक रुपमा टाढा छौ तर पनि तिमीलाई मन दुखाईरहेको छु । मलाई माफ गर काली मैले तिमीलाई,आमाबुवालाई अनि आफैले आफैँलाई हँसाउन सकिन । किन कि म खुशी हुनका लागि तिमी अनि हाम्रो आमाबुवा पनि खुशी हुनुपर्छ । खै जीन्दगीले कुन मोडमा ल्याएर छोड्यो मलाई काली अनायासै डरलाग्दो सपनाहरु आउँछन् आँखाका वरीपरी, त्यो सपनामा कुद्छन् मेरै दाईहरु खुकुरी बोक्दै मेरा पछाडितिर, भाउजुहरु रोएको देख्छु, सताइएको देख्छु भाउजुहरु र दिदीहरुलाई, देख्छु सकीनसकी घाँसदाउरा गरीरहनुभएकी मेरी आमालाई भिरपाखामा, देख्छु आमाबुवाको ढाडमा लुछाचुँडी गरिरहेका दाजुभाईहरुलाई, सुन्छु आमाबुवाको मुटु छेड्ने तिखा वचनहरु तिनैका मुखबाट । 
बिउँझन्छु आत्तिन्छु । डराउँछु भित्रभित्रै । विद्यार्थी जीवनका ति स्वर्णिम पलहरु सम्झन्छु । पहिलोबाट दोस्रोमा झर्नु नपरेको त्यो चन्द्रलाई आज आफैभित्र खोज्छु । सँगैका साथीहरु कोही डाक्टर, कोही ईन्जीनियर तर म ? तर म अझै उस्तै छु , उस्तै पिडा, उस्तै बेदना । आफन्तहरु आए अझ बढी चोटहरु दिएर गए । साथ दिन्छु भन्नेहरुले अझ पिडा थपेर गए । अब म सँग बाँकी छन् त आमाबुवा र तिमी मात्र । जसलाई मैले हँसाउनुछ अनि आफैँ हाँस्नु छ । खै काली सक्छु वा सक्दिन तर हिम्मत हार्दिन । चाहे जस्तोसुकै बाधा आउन् तयार छु लड्न तर एउटै सर्तमा, आमाबुवा अनि तिमी मेरो साथमा हुनुपर्छ । बस् यही एउटा सर्तमा ।
(सन् २०१४ मा लिखित)

No comments:

Post a Comment